सल्यान, माघ २८ :

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेकाे दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको छ ।

आठ दिनदेखि जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान नष्ट भएका छन् । १८ गतेबाट जारी महोत्सवमा गएराति आठौं दिन आगलागी भएको हो ।

महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टलमा आगजनी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जनाए । उनका अनुसार गएराति ११ बजे स्टलमा आगलागी भएको थियो । आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान गरिए पनि थप विवरण आउन बाँकी छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।