वासिंटन, माघ २८ :

अमेरिकाको अदालती कागजातहरू अनुसार, एक संघीय न्यायाधीशले इलोन मस्कको सरकारी दक्षता विभागलाई ट्रेजरी विभागको रेकर्डमा राखिएका लाखौं अमेरिकीको व्यक्तिगत आर्थिक तथ्यांक (वित्त डेटा) पहुँचबाट रोक लगाएका छन् ।

अमेरिकी जिल्ला न्यायाधीश पल ए. एन्जेलमेयरले शनिबार यस सम्बन्धमा प्रारम्भिक आदेश जारी गरेका हुन् । यसमा मस्क र उनको टोलीलाई तथ्यांक भण्डारणको कुनै पनि प्रतिलिपि निजी रुपमा प्रयोग गरेको भए तत्काल नष्ट गर्न आदेश दिइएको थियो ।

ट्रम्प प्रशासनले मस्कको नेतृत्वमा सञ्चालित सरकारी दक्षता विभागलाई ट्रेजरी विभागसँग सम्बन्धित रेकर्डहरू (तथ्यांकहरु) माथि पहुँचको अनुमति दिएको थियो । मस्कको विभागले ‘लागत कटौती’ मा काम गरिरहेको छ ।

यस मुद्दामा १९ राज्यका महान्यायाधिवक्ताहरूले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए, त्यसपछि न्यायाधीशले यो आदेश दिएका हुन् ।

न्यायाधीशले मस्क एक ‘विशेष सरकारी कर्मचारी’ भएको र ‘सरकारी दक्षता विभाग’ आधिकारिक सरकारी विभाग नभएको तर्क गरेका छन् । यस्तो अवस्थामा उनको कोष विभागमा पहुँच संघीय कानुनको उल्लंघन रहेको पनि न्यायाधीशले बताएका छन् ।

यद्यपि, एक्समा एक पोस्टमा इलोन मस्कले यो निर्णयबारे लेखेका छन कि- ‘यो विल्कुल बुद्धिमानी काम होइन ।’ -बीबीसी