काठमाडौं, माघ २८ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्‌को विधायिकी काममा राजनीतिक दलरुले योग्यता प्रस्तुत गर्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजनीतिक दल र संसद्‌ले प्रधानमन्त्री र सरकार बनाउन जति क्षमता विधायिकी कर्ममा राख्न नसकेको धारणा राखे । संसद्‌मा सांसदहरुले प्रस्तुत हुने शैलीका कारण जनताको संसद्‌प्रतिको भरोसामा असर परेको समेत उनले बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पनि टुंगोमा नपुग्नुमा नयाँ/पुराना सबै दोषी रहेको उनको भनाइ छ । उनले संसद्‌को चालु अधिवेशनबाट अख्तियारसम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयकलगायत विधेयकरुलाई यो टुंग्याएर संसद्‌को प्रधान दायित्वलाई निभाउनुपर्ने बताए ।

‘संसदमा हाम्रा आवेगात्मक प्रस्तुतिहरुले हाम्रो छविलाई असर गरेको छ सभामुख महोदय । शब्द र शैलीमा अत्यन्त विनम्रताका साथ पनि विषयवस्तुको कठोरतालाई प्रस्तुत गर्न सकिन्छ । सायद यसमा हामीले हेक्का पुर्‍याएनौं कि । सायद हाम्रो शैलीले पनि नागरिक पंक्तिमा हामीप्रतिको जनताको भरोसामा असर पर्यो कि । यसमा धेरै टिप्पणी गर्न चाहन्न ध्यानाकर्षण गराउन चाहन्छु । संसदको सबैभन्दा विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘एकपछि अर्को प्रधानमन्त्री बनाउन, एकपछि अर्को सरकार बनाउन जतिको क्षमता नेता, दलहरु र संसद्‌ले राखेको छ त्यही गतिमा विधेयकहरु पारित हुन सकेका छैनन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पनि टुंगोमा पुग्न सकेको छैन । यसमा म कसलाई दोष दिउँ । आफ्नै दललाई दोषमुक्त मानौं भने त्यो बेला पनि सरकारमा थियो र अहिले पनि सरकारमा छ । एमाले पनि त्यो बेला पनि सरकारमा थियो अहिले पनि सरकारमा छ । आजको प्रमुख प्रतिपक्षी दललाई दूधले नुहाइदिउँ कि भनेर सोच्दै गर्दाखेरी ०६२/६३को आन्दोलनपछि सरकारमा त्यही दल छ । नयाँ दलसमेत दुई वर्ष यता दुई वर्ष सरकारमा छ । अख्तियारसम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक लगायतका विधेयकरुलाई यो अधिवेशनबाट टुंग्याएर संसदको प्रधान दायित्वलाई हामीले निभाउनै पर्छ ।’

सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे उठेका प्रश्नबारे संसद्‌भित्र र संसद्‌बाहिर संवाद गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ । सदनमा उनले माओवादी केन्द्रलाई प्रश्न गर्दै कांग्रेससँग मिल्दा प्राकृतिक सरकार हुने र एमालेसँग मिल्दा कसरी अप्राकृतिक ? भनेका छन् । 

विस्तृत भिडियोमा :