
कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो । मन्त्री भण्डारीले विधेयकमा पत्रकार दुर्घटना बीमा, बिरामी बिमा उपचार खर्च तथा पत्रकार कल्याण कोष जस्ता व्यवस्था विधेयकमा राखिएको जानकारी दिए ।
यसैगरी, प्रदेशमा सञ्चालित टेलिभिजन, एफएम, पत्रपत्रिका, अनलाइनको दर्ता, अभिलेखीकरण र विज्ञापनको समान वितरण जस्तो व्यवस्था विधेयकमा रहेको बताए ।
यसैगरी, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ‘प्रदेश भवन ऐन,२०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबल गरे । उनले विधेयक प्रस्तुत गर्दै विधेयकमा भवन निर्माणको ‘डिजाइन’को योग्यता छुट्टयाएकाले भवन भत्किन गएमा सहज रुपमा क्षतिपूर्ति उपलब्ध हुने बताउनुभयो ।
‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफललाई निरन्तरता दिइएको छ ।
छलफलमा प्रदेशसभा सदस्यहरु इस्राइल मन्सुरी, प्रदीपकुमार सुनुवार, छविलाल चुडाल, राधाकृष्ण खनाल र नानीमैयाँ श्रेष्ठले हरेक नागरिकले स्वच्छ खानेपानी तथा विपन्नले निःशुल्क खानेपानी पाउनुपर्ने विषय उठाएका थिए ।