
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
त्यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै आगामी २४ घण्टामा कोशी प्रदेशको पहाडी भू- भागका एक दुइ स्थानमा हल्का वर्षा, उच्च पहाडी र हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा बिहानीपख तराईका भू- भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।