
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताएका छन् ।
भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए । उनले लोकतन्त्रमा सकेसम्म संसद्बाटै ऐन, कानुन बनाउनुपर्ने धारणा राखे ।
उनले दुईतिहाइको सरकारलाई अध्यादेशको जरुरी नरहेको पनि बताए । कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति नै आफू भए पनि दुई ठुला दलको सरकार हुँदा निरंकुशताको डर हुने बताए । उनले गलतलाई गलत भन्ने आँट नभए कांग्रेसको औचित्य सकिने पनि बताए ।
‘डेमोक्रेसीमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरु बनाईकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसद् छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुईतिहाइ बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन । के-को छल्ने । अपर हाउसमा नपुगेको हो नि त अहिले छ । अपर हाउसका सांसदहरुसँग कुरा गरेर मिलाइसक्नुहुन्थ्यो । त्यो क्षमता भएको व्यक्ति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो,’ उनले भने, ‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुन त नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति मै हो । ओलीजीसँग दुई/चार राउन्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो ।’
नेता कोइरालाले सरकार चल्नै नसक्ने अवस्था भए मात्रै अध्यादेश ल्याउनुपर्ने धारणा राखे । भूमिसम्बन्धी अध्यादेश जस्ताको त्यस्तै पास भए केही गर्न नसकिने पनि उनको भनाइ छ ।