काठमाडौं, फागुन १ :

गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।

पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बुधबार बिहान बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । 

‘घटनामा संलग्न जोसुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु ।’

मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।

दुई दिनअघि ठमेलमा प्रहरीमाथि हातपात भएको सिसिटीभी फुटेज सार्वजनिक भएको थियो । त्यसमा एमाले विद्यार्थी संगठनका नेताहरु संलग्नता रहेको भन्दै कारबाहीका लागि संसदमा समेत आवाज उठेको थियो ।