बुटवल, फागुन १ :

उच्च अदालत तुलसीपुरले सुप्रिम सहकारी ठगी मुद्दामा छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपेन्देहीको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।  न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।  

आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै जोशीका तर्फबाट छोरा रोचकले  बुधबार उच्च अदालतमा निवेदन दिएका थिए।  निवेदनमा जिल्लाको आदेश बदर गरी थुनाबाहिरै राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरिएको थियो।  

जिल्ला अदालत रुपेन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले सोमबार जोशीलाई थुनामा पठाउन आदेश दिएको थियो।  पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा धरौटी बुझाएर रिहा भएका जोशी सुप्रिम सहकारीको मुद्दामा भने जेल परेका हुन् ।

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापित रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश भएको थियो।