फागुन ३ :

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न विषयमा गत वर्षको तुलनामा २३१ सिट थप गरेको छ । सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा गरेर स्नातकोत्तर तहका विभिन्न विषयमा २३१ सिट थप भएसँगै कुल १ हजार २६ सिट पाएको आयोगले जनाएको छ ।

गत वर्ष यी संस्थाहरूमा ७९५ सिट थियो । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको आयोगको १७औं बैठकले १४ संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको हो ।

सबैभन्दा धेरै सिट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ११८ सिट थप भएको छ । योसँगै प्रतिष्ठानको स्नातकोत्तरका लागि सिट संख्या २५० पुगेको छ ।

त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० सिट थप भएको छ । बीपीमा अब पीजीमा सिट संख्या २०४ पुगेको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानामा २४ सिट थपिएसँगै ९४ सिट पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ सिट थपिएका छन् । यस्तै स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसमा ८ सिट थप भएका छन् । आयोगले हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सिट दिने निर्णय गरेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो वर्ष ५ सिट थप भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेसमा भने ९ सिट घटेको छ । महाराजगन्ज मेडिकल कलेजमा यस वर्ष ७ सिट घटेसँगै अब ११६ सिट मात्रै पढाउन पाउनेछ ।