मोरङ, फागुन ४ :

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा पूर्ण समर्पित हुनुपर्नेमा जोड दिएका छन्।

कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शनिबार आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले जनताको सेवामा दृढ प्रतिबद्धता जनाउँदै कार्य गर्नुपर्ने बताए। साथै, प्रदेशको विकास, निर्माण तथा शान्ति सुरक्षाका लागि सरकार चनाखो हुनुपर्ने उनको भनाइ थियो।

प्रदेश प्रमुख खापुङले सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइरहेको उल्लेख गर्दै प्रदेश सरकारले इमानदारीपूर्वक आफ्नो दायित्व पूरा गरिरहेको बताए। सङ्घीय लोकतान्त्रिक गणतन्त्र लागू भएको छोटो अवधिमै प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले उल्लेख गरे। यस अवसरमा, सात वर्षको विकास–निर्माण कार्यलाई समेटेर प्रदेश सरकारले प्रकाशित पुस्तक समेत सार्वजनिक गरियो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक पूर्वाधारसँगै मानव संसाधन विकासमा केन्द्रित रहेको बताए। साथै, गरिबी न्यूनीकरणका लागि पुँजी निर्माण आवश्यक रहेको भन्दै आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने योजना रहेको जानकारी दिए।

प्रदेश आन्तरिक राजस्व कार्यालय स्थापना सम्बन्धी नीति सरकारले तयार गरिसकेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश कर्मचारीहरूको वृत्ति विकासका लागि सरकार गम्भीर रहेको बताए।

प्रदेश सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशको विविधतायुक्त संरचनालाई ध्यानमा राख्दै राजनीतिक स्थायित्व कायम भएमा विकास सम्भव हुने धारणा व्यक्त गरे। साथै, प्रदेश सरकारले दीर्घकालीन आम्दानीको स्रोत पहिचान गर्दै औद्योगिक विकासमा लगानी गर्नुपर्ने सुझाव दिए।

मुख्यसचिव केदारनाथ शर्माले राज्यले तोकेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।