
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ ।
अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।
पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए ।
पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको र अहिले आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रुपमा वितरण थालिसकेको उनले बताए ।
पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे- रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले बताए ।
सोही परियोजना अन्तर्गत ‘फायर फाइटिङ सिस्टम’ को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । विभिन्न कारणले केही दिनअघि मात्र सो पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।
यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ ।
मोतिहारी- अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाँडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।
यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।