काठमाडौं, फागुन ६ :

संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्‌को छैटौँ वार्षिक प्रतिवेदन (आव ०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आव ०८०/८१),  पेस गर्ने कार्यसूची छ । त्यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

आइतबार गणपूरक नपुगेपछि उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी संसद् बैठक स्थगित भएको थियो । आजकै बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रधानमन्त्री ओलीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी प्रधानमन्त्री ओलीले नै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । आजकै बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
हेर्नुहोस् संसद् बैठकको लाइभ :