काठमाडौं, फागुन ७ :

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले वर्तमान सरकारमा एमालेको प्रभाव बढ्दै गएको आरोप लगाएका छन्।

काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा कोइरालाले कांग्रेस सत्ता पक्षमा रहेको भए पनि सरकारमा बिस्तारै एमालेको प्रभावमा पर्न थालेको बताए।

उनले सरकारको गतिविधिहरूमा एमालेको प्रभाव बढिरहेको बताउँदै कांग्रेसले सरकारको गतिविधिहरूमा निगरानी राख्नु पर्ने धारणा व्यक्त गरे।

साथै,  कोइरालाले सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल विधेयकको कडा विरोध गरे।  यो विधेयक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पार्न सक्ने जनाउँदै  विधेयकमा प्रस्तावित नियमनको प्रक्रियाबारे सार्वजनिक बहस र सरोकारवालासँग थप विचार विमर्श गरिनु जरुरी रहेको बताए। 

कुनै पनि हालतमा सरकारले उक्त विधेयक फिर्ता नगरेमा नागरिकको मौलिक अधिकारमा ठुलो आघात पुग्ने उनले चेतावनी पनि दिए। कुनैपनि किसिमको नियमनले अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिको अधिकारलाई दबाउन नहुने उनको भनाइ थियो ।