काठमाडौं, फागुन ७ :

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाबाट आफूमाथि भएको खेद प्रस्तावले अपमान भएको भन्दै कानुनी उपचारमा जाने बताएका छन्।

शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेपछि उनीविरुद्ध सोमबार खेद प्रस्ताव पारित भएको थियो । यसप्रति आपत्ति जनाउँदै सांसद शाहीले कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा मंगलबार  उनले लेखेका छन्, 'राष्ट्रियसभाका माननीय सांसदज्यूहरू र राष्ट्रियसभाले एउटा निर्वाचित सांसदलाई तर्साउने,धम्काउने, संसदमा नली खुट्टाको हड्डी भन्दै अपमान गर्ने गतिविधि गर्दै जाने हो भने म पनि संस्थागत रूपमा नीतिगत रूपमा कानुनी उपचारमा जान बाध्य हुनेछु । त्यसैले भन्दछु यस्ता गतिविधि तत्काल बन्द गर्नुस् । सत्य कुरालाई स्वीकार्नुस् ।'

शाहीले एक जना निर्वाचित सांसदलाई तर्साउने र धम्काउने र अपमान गर्ने विरुद्ध संस्थागत र नीतिगत रुपमा कानुनी उपचारमा जान बाध्य हुने भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।