
स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार महोत्सव फागुन १० गतेबाट १७ गतेसम्म आयोजना हुनेछ ।
वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न वडा नम्बर १५ ले महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव आयोजनाका विषयमा वडाध्यक्ष डंगोल भन्छन्, ‘सबैले मेरो महोत्सव हो भन्न सक्ने, सद्भावयुक्त पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । यो पहिचानले वडासँगै वडावासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय रहेको छ ।’ उनले महोत्सव अवलोकनका लागि वडा समितिकातर्फबाट सबैलाई निमन्त्रणा पनि गरेका छन् ।
महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने योजना छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको छ । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन गरिनेछ ।
यस्तै मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुनेछन् । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछ ।
महोत्सवमा स्थानीय सहभागिता गर्न वडाले वडास्तरीय छलफल आयोजना गरिसकेको छ । यस्तै महोत्सव प्रवर्धनका लागि साइकल र्यालीलगागत कार्यक्रम सम्पन्न गरेको छ । अहिले स्थानीय महोत्सवमा प्रदर्शन गर्ने सामान तथा वस्तु व्यवस्थापन गर्न र सांस्कृतिक कार्यक्रमको अभ्यास गर्नमा व्यस्त छन् ।