सुर्खेत, फागुन ८ :

राजनीतिमा रहरले आउने कि लहडले ? पत्रकार सुधीर शर्माको प्रश्नमा नेताहरुको जवाफ थियो, राजनीतिमा आउनुमा कुनै खास परिस्थिति कारक हुन्छ, रहर, लहडले भन्दा पनि आत्मबोधले काम गरेको हुन्छ । रहर गर्नु पनि गल्ती होइन । राजनीतिमा टिकाइराख्न सक्नु व्यक्तिमा भर पर्छ ।

वीरेन्द्रनगरमा बुधबार सञ्चालित कर्णाली उत्सवको अन्तिम दिन राजनीति : रहर लहड सेसनमा पत्रकार शर्मासँग संवादमा थिए, एमाले सचिव एवं सांसद योगेश भट्टराई, कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे, माओवादी केन्द्रका नेता एवं सांसद रेखा शर्मा र रास्वपाका सांसद शिशिर खनाल ।

एमाले नेता भट्टराईले लोकतन्त्रको उपलब्धि भनेकै स्वतन्त्रता भएकाले यसको अर्को विकल्प नभएको बताए । ‘हिजो कर्णालीले आलोचना गर्न जान्दैन्थ्यो, आज मजाले आलोचना गर्न सक्छ, यो व्यवस्था त लोकतन्त्रले ल्याएको हो नि, यसको श्रेय त बहुदलीय व्यवस्थालाई जान्छ,’ उनले भने ।

सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकका विषयमा सबै दलबीच राष्ट्रिय सहमति जुटेको दाबी गरे । ‘अहिले समाजमा जुन खालको भ्रम छ, त्योअनुसारको व्यवस्था विधेयकमा छैन । आजको सरकारले आफ्नो मत राख्ने कुनै पनि स्वतन्त्रता खाँदैन । यो विधेयक जस्ताको तस्तै पास हुन्छ भन्ने पनि छैन । नचाहिँदो कानुन संसद्‌ले बनाउँदैन् सांसद भट्टराईले भने ।’

हामी सांसदहरुले पनि आफ्नो विवेक प्रयोग गर्छौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा आफ्नो समर्थन नहुने धारणा राखिन् । उनले भनिन्, ‘सामाजिक सञ्जाल नियमन मात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन । आवश्यक परे विधेयकलाई पुनर्लेखन गर्नुपर्छ ।’

यस्तै कांग्रेस नेता आङ्दम्बेले छलफल भएरै विधेयक पारित हुने बताए । रास्वपा सांसद खनालले रास्वपालाई कुनै भिजन नभएको भनेर गलत भाष्य सिर्जना खोजिएको बताए ।