काठमाडौं, फागुन ९ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी छन् । उनी फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।

ओमनको मस्कटमा आयोजित सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री डा. देउवाले आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् । 

उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् । सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा सम्मेलनको मुख्य विषय थियो ।

सम्मेलनपछि  मन्त्री देउवाले यूएई, श्रीलंका र ओमनका विदेशमन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरुलाई आग्रह पनि गरिन् ।

यस्तै इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।

यसैगरी जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपालमा गत असोजमा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता रहेको थियो ।

यसैबीच,राष्ट्रमन्त्री राणाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् ।

त्यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको समेत बताइन् ।