
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा छैटौं सार्भी लिर्डस राउन्ड टेबल बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकमा सेन्ट्रल बैंक अफ श्रीलंकका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुस्नैन, बंगलादेशको अर्थ मन्त्रालयका सहसचिव कमल हक मारूफको आदिको उपस्थिति थियो ।
बैठकको पहिलो सत्रमा सदस्य संस्थाका सबै सहभागीको तर्फबाट आफ्नो मुलुकमा वित्तीय समावेशीकरणको विद्यमान स्थिति र दक्षिण एसियामा वित्तीय समावेशीकरणको प्रवर्धनका लागि सार्फीमार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोण प्रस्तुत गरिएको थियो । सो अवसरमा गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको प्रवर्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासबारे उल्लेख गर्दै नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा ठुलो फड्को मारेको चर्चा गरे ।
दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन उनले आह्वान गरे । यसैगरी श्रीलंककाका केन्द्रीय बैंकका गभर्नर डा. पी. नन्दलालले श्रीलंककाको वित्तीय समावेशीकरणको स्थितिबारे प्रकाश पार्दै दक्षिण एसियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति सार्फीमार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोणबारे प्रस्तुत गरे ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले स्वागत मन्तव्य राख्दै दक्षिण एसियामा वित्तीय सेवाको पहुँच विस्तारमा देखिएका चुनौतीलाई सम्बोधन गर्न सार्फी महत्त्वपूर्ण सञ्जाल रहेको धारणा राखिन् ।