
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गरेका छन्।
सर्वोच्च बार एशोशिएशनको ५१ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । उनले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरु हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताए ।
उनले बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शुन्यमा झार्ने बताए । उनले पाँच वर्ष नाघेका मुद्दाहरु समेत २०८३ सालसम्म शुन्यमा झार्ने लक्ष्य राखिएको पनि बताए ।
प्रधानन्यायाधीश राउतले अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गरे । साथै उनले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्न समेत कानुन व्यवसायीहरुलाई आग्रह पनि गरे ।
उनले आदेशप्रति आग्रह पूर्वाग्रह नराखि टिप्पणी गर्न पनि अनुरोध गरे ।प्रधानन्यायाधीश राउतले कानुन व्यवसायीहरुसँग भएको ज्ञान र क्षमाता कानून निर्माणको क्षेत्रमा संप्रेषण हुन नसकेको बताए ।