
मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ
अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ ।
फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) छन् । बुधबार महाशिवरात्रि पर्व मनाइने र त्यसको दुई दिनपछि शुक्रबार मिथिला माध्यमिकी परिक्रमा सुरु गरिँदै छ ।
महाशिवरात्रि पर्वलगत्तै मिथिला माध्यमिकी परिक्रमाको तयारीमा रहेका भङ्गाहा- ४ रामनगरका ६५ वर्षीय लाली महतोले फूल र बेलपत्र चढाएर माध्यमिकी यात्रा पूरा गर्ने बताए । महतोकै जस्तो अहिले महाशिवरात्रि पर्वका लागि महोत्तरी जिल्लाका गाउँगाउँमा बुँदे महापर्वबारे चासो र चर्चा बढेको छ । यसैगरी शिवालयमा पनि अहिले उत्सवको तयारी बढेको छ । जिल्लाका सबैजसो शिवालय अहिले पर्वविशेषमा सरसफाइसँगै रङरोगन गरिँदैछन् ।
सदरमुकाम जलेश्वर–१ स्थित जलेश्वरनाथ, बर्दिवास- ५ टुटेश्वरस्थित टुटेश्वरनाथ, भङ्गाहा- ५ स्थित सिद्धनाथ, सोनमा- ७ मगरथानास्थित मङ्गलनाथ र सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित धष्नेश्वरनाथसहितका शिवालयमा महाशिवरात्रि पर्वको चहलपहल बढेको छ ।
यसैगरी बर्दिबास- १४ स्थित कामेश्वरनाथ र बर्दिबास- ३ राइमण्डलस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि पर्वको तयारीले चहलपहल बढाएको छ । यी शिवालयमा महाशिवरात्रि पर्वका लागि मन्दिर व्यवस्थापन र सर्वसाधारण आवश्यक तयारीमा जुटेका छन् ।
महाशिवरात्रि पर्वका लागि स्थानीय तयारी थालिएको टुटेश्वरनाथ मन्दिर मेला व्यवस्थापन समितिका संयोजक तथा बर्दिबास- ५ का वडाध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिए ।