काठमाडौं, फागुन १४ :

सहिद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र र संकटाले जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मच्छिन्द्रले भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड र संकटाले विभागीय टोली एपीएफलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । दिनको पहिलो खेलमा संकटाले ट्राइब्रेकरमा एपीएफलाई ५-३ ले हराएको हो ।

एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दीप कार्कीले असफल पार्दै जित दिलाए । संकटाले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा मच्छिन्द्रले पनि पाहुना टोली ट्रान्सपोर्ट युनाइटेडलाई १-० गोलले पराजित गर्‍यो ।

मच्छिन्द्रका स्टेफेन जमाह जलीले गरेको गोल नै निर्णायक बन्यो । यस प्रतियोगितामा दुई विदेशी टोली भुटानको ट्रान्सफर युनाइटेड र उब्जेकिस्तानको ब्ल्याक बुल्सले प्रतिस्पर्धा गरेका थिए । तर, दुवै टोलीको यात्रा पहिलो खेलमै सीमित रह्यो । यसअघि सोमबार पाहुना टोली ब्ल्याक बुल्स एपीएफसँग टाइब्रेकरमा पराजित भएको हो । तर, एपीएफको यात्रा दोस्रो खेलमै पूर्णविराम लाग्यो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो । त्यसपछि खेल टाई ब्रेकरतर्फ धकेलियो । तर, यसपल्ट भने एपीएफ सफल हुन सकेन र संकटालाई नतिजा सुम्पिन पुग्यो ।

दोस्रो खेलमा मच्छिन्द्रले पाहुना टोलीविरुद्ध साँघुरो जित निकाल्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा भने मच्छिन्द्रले गोल गर्‍यो । तर, गोलका लागि लामो समय पर्खनु पर्‍यो । स्टेफेन जमाहले ८०औं मिनेटमा गोल गरे । शनिश श्रेष्ठको पास सदुपयोग गर्दै उनले गोल गरेका हुन् । त्यसपछि बाँकी समयमा गोल हुन सकेन र मच्छिन्द्रले साँघुरो जित निकाल्यो । अब मच्छिन्द्रले सेमिफाइनलमा आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ । उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।