
फाइल तस्बिर।
ताप्लेजुङमा तीन दिनदेखिको निषेधाज्ञा हटेपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ । निषेधाज्ञा हटेपछि त्यहाँ सवारी साधन नियमित रुपमा सञ्चालन भएका छन् । शिवरात्रिका अवसरमा स्थानीय शिवालयमा जान पनि भक्जनहरुलाई सहज भएको छ । बजार,चोक,मन्दिरमा चहलपहल बढेको छ ।
केबलकार निर्माणको विषयमा भएको विरोधले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले लगाएको निषेधाज्ञा मंगलबार रातिदेखि हटाइएको थियो । आज त्यहाँ आन्दोलनका पनि कुनै गतिविधि भएको छैन । सरकारले बोलाएको वार्तामा जान 'नो केबलकार' समूहले चार प्रस्ताव गरेका छन् ।
त्यस प्रस्तावप्रति सरकारी पक्षले कुनै प्रतिक्रिया जनाएका त छैनन् तर वार्ताका लागि भने सरकार तयारी अवस्थामा रहेको बताइएको छ । तत्काललाई काम रोक्ने सर्त यसअघि सारेको सरकार पक्षले मन्त्रिस्तरीय वार्ता समिति बनाउने संकेत भने गरेको छैन ।