काठमाडौं, फागुन १५ :

काठमाडौंमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि भएको  खेलमा म्यानमारले २ गोलको अग्रता लिएको छ ।

६२ ‍औं मिनेटमा म्यानमारको पक्षबाट पहिलो गोल भएको थियो । पहिलो गोल यु पर खाइङले गरेकी हुन् भने दोस्रो गोल ६४ औं मिनेटमा विन थेङ्गी तुमले गरेकी हुन् ।  नेपालको तर्फबाट कुनै पनि गोल हुन सकेको छैन ।

दर्शकले खचाखच भरिएको छ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको विजेताले उपाधि हात पार्नेछ । आजको खेल नेपालका लागि लगातारको हारको पीडा अन्त्य गर्ने अचूक मल्हम बन्ने विश्वास गरिएको छ ।नेपाल अहिलेसम्म खेलेको विभिन्न प्रतियोगिताहरूमा कुल १२ पटक फाइनलमा पुगे पनि सधैं उपविजेतामा सीमित हुनुपरेको छ।

फाइनल खेलका लागि नेपालले  कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएको छ । पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मी कुमारी घिसिङ आज बेन्चमा छन् ।

लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा भेट पक्का गरेका हुन् । दुई टोलीबीचको समूह चरणको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानसहित चारदेश सहभागी छन् ।