
गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए ।
भूकम्पपछिको पुनर्निर्माण एवं पुन:स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइको कार्यालय उद्घाटनगर्ने तयारी गरिएको उनले जानकारी दिए ।
‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आकलन र निजी घरको पुनर्निर्माण एवं पुन:स्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘त्यहाँ केन्द्रविन्दु भएर गएका भूकम्पबाट निजी घरमा भएको क्षति आकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनःनिर्माण र पुनःस्थापनको काम अगाडि बढाएका छौँ ।’
मन्त्रालयले गत वर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । गृहमन्त्री लेखकले आगामी साता बझाङ, डोटी र जाजरकोट पुगेर पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ ।