
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभापछि भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पृथ्वीबहादुर पाँडेसहित दीपंकर शाक्य उदय, प्रजञ्य राजभण्डारी र मदनकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कविकुमार टिवरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका छन् ।
बैंकले आव ०८०/८१ मा चार अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसअवधिमा बैंकको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले बढेर चार खर्ब सात अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी कुल कर्जा रकम पनि यस अवधिमा ६ अर्ब १० करोड रुपैयाँले बढेर तीन खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कुल कर्जा तथा सापटी रकम तीन खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो । बैंकको चुक्तापुँजी भने ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोष ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
बैकले हाल २७२ शाखा, २६६ एटीएम, १६ राजस्व संकलन काउन्टरसहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङमार्फत ३२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तर्राष्ट्रिय प्रकाशन-युरोमनीबाट ‘बेस्ट बैंक २०२३’ को उपाधिसमेत प्राप्त गर्न सफल भएको छ ।