गोरखा, फागुन १७ :

बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । 

आज बिहानदेखि चुमनुब्री गाउँपालिका- १ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन् ।

चुमनुब्री- १ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताए । 

साम्दोमा रहेको होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेको सञ्चालक निमादोर्जे लामाले बताए ।

होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका छन् । पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उनले बताए । 

अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो हिउँ जमेको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए । बाक्लो हिमपातका कारण अत्यधिक चिसो बढेको र जनजीवन प्रभावित भएको उनको भनाइ छ ।

तत्कालै हिमपात रोकिने कुनै अवस्था नरहेकाले पर्यटक अझै केही दिन साम्दोमा क्षेत्रमा रोकिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण घरबाहिर निस्कन नसक्नुका साथै दैनिक काम गर्न र स्थानीवासीलाई घाँसदाउरा गर्न कठिनाइ भएको लामाले बताए ।