नुवाकोट, फागुन १७ :

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे ।

नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले नुवाकोटलगायत देशभर कांग्रेस नेतृत्वमै धेरै विकास भएको स्मरण गराउँदै आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणासमेत गरे ।

‘नुवाकोटबाटै प्रत्यक्ष चुनाव लड्छु’
महतले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गरे । ‘मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरें । अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु,’ उनले घोषणा गरे ।

उनले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्दै पार्टीका नेताकार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गरे ।

‘कांग्रेस-एमाले गठबन्धन देशका लागि आवश्यक’
प्रवक्ता महतले वर्तमान सत्तारूढ गठबन्धन माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्रकै कारण बनेको आरोप लगाए । उनले भने, ‘कांग्रेस-एमाले गठबन्धनको सरकारले देश र जनतालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’