काठमाडाैं, फागुन १८ :

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकी मुलुकहरूसँग सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।

अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले विश्व राजनीति र कूटनीतिक सम्बन्धको गहिरो सन्देश दिएको उल्लेख गर्दै महासचिव पोखरेलले छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध कमजोर हुँदा ठूला र शक्तिशाली देशहरूले समेत कठिनाइ भोग्नुपर्ने बताए।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै पोखरेलले बाहिरबाट प्राप्त हुने सहयोग धेरैजसो अस्थायी र स्वार्थमा आधारित हुने बताउँदै भने,‘रूस र युक्रेन दुवैका लागि युद्ध अहिले घाँडो बनेको छ। तर, युद्ध अन्त्यका लागि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदैछ।’

उनका अनुसार, शान्ति र स्थायित्व कायम गर्नका लागि हरेक देशले छिमेकीसँगको सन्तुलित सम्बन्धलाई प्राथमिकता दिनुपर्छ, किनभने क्षेत्रीय शान्तिबिना विश्वशान्ति सम्भव हुँदैन।

महासचिव पोखरेलले हालको अमेरिकी रणनीतिले एसियालाई भू-राजनीतिक द्वन्द्वको नयाँ केन्द्र बनाउन सक्ने संकेत गरेको बताए। उनले भने,  ‘गाजा क्षेत्र प्यालेस्टिनीहरूबाट खोस्ने योजना, रूस–युक्रेन युद्ध अन्त्यका नाममा भइरहेको अमेरिकी हस्तक्षेप, र खनिज सम्पदाको लुटपाट मुख्य चासोका रूपमा उभिएका छन्।’

उनका अनुसार, स्वार्थप्रधान नीतिहरूले विश्वभर आर्थिक स्वार्थमा आधारित नयाँ प्रकारको भू-राजनीतिक द्वन्द्वलाई जन्म दिनसक्छन्, जसबाट एसियाली राष्ट्रहरू विशेष रूपले सचेत हुनुपर्ने आवश्यकता छ।

महासचिव पोखरेलले एसियाली राष्ट्रहरूले आपसी सम्बन्धको विकासमा जोड दिएमा एसिया पुनः विश्व सभ्यताको केन्द्र बन्नसक्ने बताए। क्षेत्रीय समृद्धि र शान्तिका लागि आपसी समझदारी, विश्वास र सहयोग अपरिहार्य रहेको उनको धारणा छ।