नेपालगन्ज, फागुन १८ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र दुई-तीन दिनमै गठन हुने बताएका छन्।

नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनले नेपालगन्जमा आयोजना गरेको ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संशोधनका विषयमा विस्तृत छलफल गरिने जानकारी दिए।

थापाका अनुसार संयन्त्र बनेपछि संविधान संशोधनको आवश्यक विषयहरूबारे छलफल हुनेछ। ‘सुरुमा कांग्रेस र एमालेबीच छलफल हुनेछ, उनले भने, ‘त्यसपछि सरकार र प्रतिपक्षका अन्य दलहरूसँग समन्वय गर्दै अघि बढ्ने योजना छ।’

संभावित संशोधन बुँदाहरूबारे चर्चा गर्दै उनले निर्वाचन प्रणाली, संघीय तहका अधिकार, सुशासन, र एक व्यक्तिले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने सीमासम्बन्धी विषयहरू छलफलको केन्द्रमा रहने बताए।

थापाले संविधान कार्यान्वयनसँग जोडिएका ४० भन्दा बढी नयाँ कानुनहरू बनाउनु पर्ने र उत्तिकै संख्यामा पुराना कानुन खारेज गर्नुपर्ने भएकाले सरकार त्यसलाई प्राथमिकतामा राखेर अघि बढिरहेको स्पष्ट पारे।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निमा गिरी, प्रदेश सभापति अमर पुनलगायतले संविधान संशोधनको आवश्यकताबारे आफ्नो धारणा राखेका थिए। महामन्त्री थापालाई नेपालगन्ज विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले पञ्चेबाजासहित स्वागत गरेका थिए।