कास्की, फागुन १९ :

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ को पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले उपाधि जितेको छ ।

यसैगरी महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा च्याम्पियन बन्न सफल भयो ।

माछापुच्छे- ७ धम्पुसमा शनिबार सम्पन्न भएको फाइनल खेलमा अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३- १ सेटमा हराउँदै च्याम्पियन बन्यो । गलकोटले २५- २०, २५- १२, १६- २५२५- २०ले खेल आफ्नो पक्षमा पारेको थियो ।

च्याम्पियन बनेको गलकोटले नगद दुई लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता शुक्ला गण्डकीले नगद रु एक लाख, ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सेमिफाइनल पुगेका बागलुङको निसिखोला गाउँपालिका नवलपुरको बौदीकाली गाउँपालिकाले रु ५० हजारका दरले पुरस्कार पाए ।

पुरुषतर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी घोषित भए ।  शुक्ला गण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मीन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनीहरूलाई पालिकाको लोगोअङ्कित खेलकुद पोशाक पुरस्कार प्रदान गरिएको थियो ।

महिलातर्फ उपाधि चुमेको शान्ता भलिबल ट्रेनिङ सेन्टरले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी बागलुङ नगरपालिका बागलुङ द्वितीय भई नगद रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सेमिफाइनलनमा उपविजेता बनेका माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘बी’ले नगद २५- २५ हजार प्राप्त गरे ।