भैरहवा, फागुन २१ :

गृहमन्त्री रमेश लेखकले कोभिडका कारण बन्द रहेका सबै दक्षिणी नाका पुनः सञ्चालनमा आएको बताएका छन् ।

भैरहवाको बेलहियास्थित नवनिर्मित अध्यागमन कार्यालयको मंगलबार उद्घाटनका अवसरमा उनले पूर्वका पशुपतिनगरदेखि काँकडभित्ता हुँदै महाकालीसम्मका सबै दक्षिणी सीमानाका खोलिएको  र यहाँबाट पर्यटकहरूको आवागमन निरन्तर भइरहेको समेत बताए ।

गृहमन्त्री लेखकले बेलहिया अध्यागमन कार्यालयलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो कार्यालयको रूपमा परिचय गराउँदै, यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनको आवश्यकता रहेको बताए।

‘नेपालको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको उल्लेख गर्दै, उनले भने,‘अर्थतन्त्रका समस्या समाधान गर्नका लागि केही नयाँ अध्यादेशहरू जारी गरिएको छ, जसलाई छिट्टै संसदबाट पारित गरी कार्यान्वयनमा ल्याइनेछ।’

अध्यागमन कर्मचारी र सुरक्षाकर्मीलाई जनताको सेवा गर्दा नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आह्वान गर्दै उनले नेपाललाई पर्यटक र व्यावसायिक दृष्टिले अझ आकर्षक बनाउन सकिने पनि चर्चा गरेका थिए।