
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन सभामुखले निर्देशन दिएका हुन्।
बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंक,सोधिएको स्पष्टीकरणलगायतकाबारे सरकारसँग जवाफ मागेका थिए । रुलिङ नगरे संसद्को बैठक चल्न नसक्ने भनी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अडान लिएका थिए ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले घिसिङलाई सरकारले हटाउन खोजेको भनेर सरकारको ध्यानाकर्षण गरेका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले जसले राम्रो काम गरिरहेको छ उसलाई शून्य अंक किन दिइएको भनेर प्रश्न गरेका थिए । सार्वजनिक संस्थानहरू घाटामा गइरहेको बेला घिसिङले प्राधिकरणलाई नाफामा लगिरहेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ हटाए त्यस्त अन्य धेरै व्यक्ति आउने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान घिसिङलाई हटाइए त्यसको सडक र सदनबाट विरोध हुने बताएका थिए।