काठमाडौं, फागुन २२ :

सेवाशुल्क पुनः प्राप्तिका लागि भन्दै विभिन्न तारेहोटेल तथा रेस्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् ।

राजधानीका सोल्टीलगायत विभिन्न होटेलका प्राङ्गणमा बुधबार भएका कार्यक्रममा उनीहरुले सर्वोच्च अदालतले गरेको फैसलाका कारण मजदुरहरु अन्यायमा परेको गुनासोसमेत गरेका हुन् ।

अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघले आयोजना गरेको कार्यक्रममा संगठनका अध्यक्ष कुमार पन्तले श्रमिकहरुले पाउनुपर्ने सेवाशुल्क पुनः प्राप्ति नहुन्जेल संघर्ष जारी राख्ने उद्घोष गरे । मजदुरहरुले उपभोग गरिरहेका सेवा-सुविधालाई यो वा त्यो बहानामा कटौती गरिनु दुर्भाग्य भएको बताए । उनले भने, ‘खाइपाई आएका सुविधाहरुलाई राज्य पूर्वाग्रही भयो-भयो न्यायालय पनि प्रभावित भएर मजदुरका विरुद्धमा पक्षपाती बन्यो । अब यसविरुद्धमा जाग्नैपर्छ ।’

अध्यक्ष पन्तले दुई वर्षअघि सर्वोच्च अदालतले सेवाशुल्क खारेज गरेदेखि आफ्नो संगठन निरन्तर संघर्षमा रहेको र आउँदो चैत १ गतेबाट माइतीघरमा हुने धर्ना कार्यक्रममा सम्पूर्ण मजदुरलाई सहभागी हुन अपिल गरे ।

संगठनका वरिष्ठ उपाध्यक्ष मिलन मल्लले सर्वोच्च अदालतले श्रम क्षेत्रको सेवा शुल्कसम्बन्धी व्यवस्थालाई खारेज गरेर श्रमिकविरोधी फैसला गरेको भन्दै आक्रोश व्यक्त गरे । सेवा शुल्क लिन पाउने व्यवस्था नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय चलनविरुद्ध पनि रहेको बताउँदै भने, ‘यसरी केही उपभोक्तावादी मानिसहरुको इन्ट्रेस पूरा गर्न न्यायालय पनि प्रभावित हुँदाको परिणाम आज नेपालको दक्ष श्रमिकहरु विदेश पलायन हुन बाध्य भएका छन् ।’

संगठनका महासचिव रामकुमार खड्काले सेवाशुल्क कानुनी रुपमा लागु हुनुपर्ने मात्रै नभएर नियमित काममा स्थायी श्रमिक नियुक्तिको व्यवस्थाका पनि यो संघर्ष अनिवार्य भएको बताए । उपाध्यक्ष सुशील राजभण्डारीले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकलाई नेपाल सरकारको श्रेणीविहीन कर्मचारीसरह न्यूनतमा बेतनको व्यवस्था नभए दक्ष जनशक्ति बाध्य भएर विदेशिने र देश खाली हुने चिन्ता जनाए । उपमहासचिव सुदर्शन तिमल्सिनाले सम्पूर्ण मजदुरलाई अनिवार्य सामजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने धारणा राखे ।

अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका सचिव तथा सो संगठनको सोल्टी होटेल एकाइ अध्यक्ष सुमन महर्जनले सोल्टीमा मात्रै नभएर देशैभर मजदुरहरु अन्यायमा परेकाले उनीहरुको अधिकारका लागि संघर्ष चर्काउनुपर्ने बताए । नेपाल पर्यटन तथा होटेल समबद्ध श्रमिक संघ सोल्टी एकाइ समिति सचिव सुशन चौलागाईले मजदुरहरुको पक्षमा गरिएको संघर्ष सकारात्मक रहेको र त्यसमा आफ्नो संगठनको ऐक्यबद्धता जाहेर गरे ।

जागरणसभामा अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका सचिवालय सदस्य रमेशलाल श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य तथा एन्डिजका अध्यक्ष दीपक खड्का, सोल्टी होटेल फ्रन्ट अफिस स्टाफ अनीता रेग्मी, किचेन डिपार्टमेन्ट स्टाफ ऋदेश पाण्डे, हाउसकिपिङ स्टाफद्वय रमेश थापा र मनकृष्ण खत्रीका साथै सोल्टी होटेल उच्च व्यवस्थापनसहति सम्पूर्ण मजदुर तथा कर्मचारीले सेवा शुल्क पुनः प्राप्ति नहुन्जेल निरन्तर संघर्ष जारी राख्ने बताएका थिए ।

फागुन १८ गतेदेखि ललितपुरस्थित होटेल हिमालय र लैनचौरस्थित होटेल मल्लबाट सुरु भएको मजदुर जागरण अभियान निरन्तर चलिरहेको छ । आज २१ गते बुधबार होटेल सोल्टी, चन्द्रागिरि हिल्स, बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टलगायत होटेल तथा रेस्टुरेन्टहरुमा विभिन्न मजदुर नेताहरुको उपस्थितिमा अभियान सम्पन्न भएको छ ।

यस्ता छन्, मजदुर जागरण अभियान चलाउनुका कारण :
१. सेवाशुल्क कानुनी रुपमा लागु गराउन ।
२. नियमित काममा स्थायी श्रमिक नियुक्तिको व्यवस्थाका लागि ।
३. पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई नेपाल सरकारको श्रेणीविहीन कर्मचारी सो-सरह न्यूनतम बेतन कायम गराउनका लागि ।
४. सम्पूर्ण मजदुरहरुलाई अनिवार्य सामजिक सुरक्षा कोषमा आबद्ध गराउन ।