
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सत्तापक्ष र विपक्षी दलले छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावमा होमिने भएका छन् ।
चैत २३ गते बारको नयाँ कार्यसमिति चयनका लागि हुने मतदान अगाडि नै उनीहरुले प्यानल खडा गरेका हुन् । कार्यसमितिका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता दिउँसो तीन बजेसम्म जारी रहने जनाइएको छ ।
सत्तारूढ प्रमुख दुई दल एमाले र कांग्रेस निकट कानुन व्यवसायीका संगठनले गठबन्धन गरेपछि विपक्षीहरुले पनि गठबन्धन गरेका हुन् ।
अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइरालालाई उम्मेदवार बन्ने सहमति भएको छ । मिश्र नेपाल बारका पूर्वमहासचिव हुन्।
नेपाल बार एसोसिएसनमा प्रतिपक्षी दलले पनि गठबन्धन बनाएका छन् । अध्यक्ष पदमा माओवादीनिकट रमण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्।
महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट यज्ञमणि न्यौपानेले उम्मेदवार बन्ने भएका छन्। एकीकृत समाजवादीले उपाध्यक्ष पद लिएको छ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपाले गठबन्धन गरेका हुन् ।