काठमाडौं, फागुन २४ :

प्रतिनिधिसभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सर्वसम्मत पारित भएको छ ।

बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेस गरेका थिए । विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित गरेका छन् ।

शुक्रबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखिएका थिए । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन आव ०८०/८१’ प्रतिनिधिसभामा पेस गरे ।