काठमाडौं, फागुन २७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सोमबार भएको राजावादीको प्रदर्शनमा योगी आदित्यनाथको फोटो राखिएको विषयमा आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यो फोटो राखिएको आरोप लगाएका छन्।

शाहीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् कि उक्त फोटो नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री ओलीको निर्देशनमा उनका सल्लाहकार विष्णु रिमालले राख्न लगाएका हुन्।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे?’शाहीले भने, ‘आन्दोलन कहाँ छ भन्ने कुरा कसरी थाहा भयो? यो सबै उनीहरूको डिजाइन हो। आफैं लगाएर खिचे अनि राखे।’ यसको खण्डन गर्दै शाहीले यो कदम एमालेकै निर्देशनमा गरिएको र अन्य कुनै बाह्य प्रभावको कुनै आधार नरहेको बताएका छन्।

हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाको निर्देशनमा राजावादीहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए। सोही क्रममा भीडमा योगी आदित्यनाथको फोटो पनि देखिएको थियो।  योगी आदित्यनाथको फोटो राख्ने विषयलाई लिएर यो चौतर्फी चर्चा र बहस भइरहेको छ।

शाहीले  विदेशी एजेन्डा र सिद्धान्तका आधारमा पार्टी चलाउनेहरूले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पुर्याउन विभिन्न षडयन्त्रण गरेको आरोप समेत लगाए । ‘विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ, उनले प्रश्न गरे,‘मार्क्स, लेलिन, माओ कुन देशका हुन्?’