
काठमाडौँ, फागुन २८ :
राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न ४ विधेयकलाई आज (मंगलबार) राष्ट्रपतिकहाँ पठाइँदै छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले हिजो (सोमबार) ४ वटा विधेयक प्रमाणित गरेका थिए ।
अध्यक्ष दाहालले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’, ‘विधायनसम्बन्धी विधेयक, २०८०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ प्रमाणित गरेका थिए ।
अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि आज (मंगलबार) राष्ट्रपति कहाँ पठाउन लागिएको हो । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्छ ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि भने ऐनका रुपमा लागु हुनेछ ।