
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी भने सहभागी नहुने गरेको परीक्षा नियन्त्रक कार्यलयले जनाएको छ ।
एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले परीक्षाका लागि केन्द्रबाट गरिने सबै तयारी पूरा भइसकेको जानकारी दिए ।
परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ ।
ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन् ।