
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुमा स्वदेशी र विदेशी चलखेल मिसिएको आशंका गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरू सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको समेत बताए ।व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलसमेत मिसिएको दाहालको भनाइ छ ।
वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए ।यस्ता चलखेल आजमात्रै नभएको भन्दै अहिले किन बढ्यो भन्ने प्रश्न मुख्य भएको उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले राजतन्त्र पक्षधरहरूले अहिलेको व्यवस्था पल्टाउन खोजेको भन्दै त्यसकाविरुद्धमा लड्नुपर्ने अवस्था आएको बताए। गणतन्त्रका लागि हरेक ढुंगामा जनताको रगत बगेको प्रचण्डले बताए। गणतन्त्र माओवादीले मात्र नभएर देशका सिमान्त जनताको बलिदानबाट आएको र यो व्यवस्थाभन्दा अर्को कुनै व्यवस्था राम्रो नहुने बताए ।
साथै प्रचण्डले विचौलियाले सरकार चलाएको आरोप लगाएका छन् । उनले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन् । अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था बनेको उनले बताए । कांग्रेस–एमालेको नेतृत्वमा सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको उनको भनाइ छ ।