काठमाडौं, फागुन २८ :

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालद्वारा २०८२ भदौ ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीका लागि आज (फागुन २७) देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिएको नाडाले जनाएको छ । प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणका आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइनेछ ।

प्रदर्शनीमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीनलगायत अटोमोबाइल कम्पनीबाट समेत जानकारी माग भइरहेकाले गत वर्षहरुको तुलनामा यस वर्ष छिटै रजिस्ट्रेसन खुला गरिएको हो ।

नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्‍याउँदै आइरहेको सवारीसाधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्तालाई यस नाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नवीनतम् प्रविधिहरुको साक्षात्कार गराउने तयारी छ ।