
सामाजिक न्यायका लागि विशिष्ट योगदान दिएका अभियन्ता पदम सुन्दासलाई यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०८१’ प्रदान गरिने भएको छ ।
मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०८१ सुन्दासलाई प्रदान गर्ने निर्णय गरेको समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रत्येक वर्ष प्रदान गरिने १ लाख १० हजार राशिको यो पुरस्कार सुन्दासलाई प्रदान गर्ने निर्णय समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनोट समितिले गरेको हो ।
२००२ असार ३२ गते भोजपुरमा जन्मिएका सामाजिक न्यायका प्रखर अभियन्ता सुन्दासले बहराइनका लागि नेपालको राजदूतका रुपमा २०७४ देखि ०७८ सम्म ४ वर्ष काम गरेका थिए ।
सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछूत अन्त्य तथा दलित अधिकार प्रवर्धन संयन्त्र) का रुपमा समेत भूमिका निर्वाह गरिसकेका छन् ।
सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आबद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए । उनले सामाजिक न्यायका लागि अनशनलगायत विभिन्न संघर्षमा योगदान दिनुका साथै २०७२ सालमा दलितमैत्री संविधानका लागि तीनमहिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका निर्वाह गरेका थिए ।
नेपाल सरकार स्थानीय विकास मन्त्रालय, उपेक्षित उत्पीडित तथा दलितवर्ग उत्थान विकास समितिको उपाध्यक्षका रुपमा समेत सेवा गरेका सुन्दास नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २० वर्षसम्म अध्यक्ष, नेपाल उत्पीडित दलित जातीय मुक्त समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको उपाध्यक्षका रुपमा समेत कार्य गरिसकेका छन् ।
सुन्दास एसिया दलित अधिकार मञ्चको संस्थापक सदस्यसमेत हुन् । सुन्दासको भोजपुरको चिनारी नामक पुस्तक र चोरिएको रात कथा संग्रह २०२५ सालमा प्रकाशित भएको थियो ।
दक्षिण अफ्रिकामा सन् २००१ मा सम्पन्न जातीय विभेदविरुद्धको तेस्रो विश्व सम्मेलन, स्विट्जरल्यान्डमा सन् २००९ मा सम्पन्न डर्बान रिभ्यु कन्फरेन्सलगायत दर्जन बढी अन्तर्राष्ट्रिय सम्मेलनमा सुन्दासको सहभागिता थियो । सन् २००८ मा उनले संविधान निर्माण प्रक्रिया अध्ययनका क्रममा भारतको भ्रमण गरेका थिए । मानवअधिकार र दलित समस्याबारे सन् २०१४ मा न्यु स्कुल अमेरिकामा प्यानलिस्टका रुपमा समेत सुन्दास रहेका थिए ।
पदम सुन्दास २०७३ सालमा नेपाल सरकार संस्कृति पर्यटन मन्त्रालयबाट भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसेका थिए ।
