मोरङ, चैत १ :

मोरङको लेटाङ नगरपालिका ९, जाँतेस्थित जंगली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घरनजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) वेदप्रकाश जोशीले जानकारी दिए ।

बेलबारी ११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी लक्ष्मी बोगटी गत फागुन २४ गते जंगली हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल बोगटीको हात भाँचिएको छ । शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले जनाए ।

डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । यसअवधिमा नौवटा हात्ती मरेको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिए । जसमध्ये चारवटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी-सिकारीबाट दुईवटा, गोली हानेर एउटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्ती मरेको कार्यालयले जनाएको छ ।

गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । ‘हरेक राति जंगली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ,’ बेलबारी ४, काकुमका हरिप्रसाद मिश्र बताउँछन् ।

दिउँसो जंगलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रको भनाइ छ । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

जंगली हात्ती मानवबस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न वन क्षेत्रमा करिब १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रो-बर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको छ ।