काठमाडाैं, चैत २ :

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन नसकिने बताएका छन् ।

शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पूर्वराजाको कुनै त्याग, तपस्या वा बलिदान नरहेको दाबी गर्दै उनले इतिहास लुटतन्त्रसँग जोडिएको समेत आरोप लगाए ।

‘देशलाई लुट्नेहरूकै हातमा फेरि सत्ता दिन सकिँदैन,’ उनले भने, ‘हामीले लोकतन्त्र ल्याउन बलिदान गरेका हौं, त्यसैले अब यो व्यवस्थालाई बलियो बनाउनु आवश्यक छ।’

अध्यक्ष नेपालले वर्तमान पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने आवश्यकत्ता रहेको बताउँदै दलाल पुँजीवादको वर्चस्व तोडेर समाजवादी गणतन्त्रतर्फ जानुपर्ने धारणा राखे।

उनका अनुसार, नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै आफ्नो पार्टीले व्यवस्था परिवर्तनको स्पष्ट मार्गचित्र तय गरेको छ।

‘हामी सामन्तवादी व्यवस्थामा फर्कन सक्दैनौं। अब समाजवादी गणतन्त्रतर्फ अघि बढ्नुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘व्यवस्था बदल्न चाहनेहरू प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुपर्छ। वंशवादको कुरा छाड्नुपर्छ।