
चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ ।
कारागारमा रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन् ।
कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका छन् । उनका अनुसार उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेका छन् ।
यस्तै एचआईभी एड्सका पाँचजना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उनले बताए । उनले कैदीबन्दीमा रोग देखिएपछि उपचारका लागि सहजताका लागि काठमाडौँपछि चितवन बढीले रोज्ने गरेको बताए ।
यी बिरामी कैदीबन्दीको उपचार र नियमित औषधिका लागि कारागार कार्यालयले व्यवस्थापन मिलाउँदै आएको छ ।
राज्यले कारागारका कैदीबन्दीको उपचारका लागि विनियोजन गर्ने बजेटबाट उनीहरूको उपचार गरिँदै आइरहेको छ । कार्यालयलाई १० लाख मात्र उनीहरूको स्वास्थ्य परीक्षण र औषधिका लागि बजेट विनियोजन हुने गरेको छ ।
यो बजेट अभाव हुँदा समय समयमा विभिन्न सङ्घसंस्थाबाट औषधि सहयोग लिँदै आएको उनले बताए ।
प्रदेश सरकार, स्थानीय सरकार, जनस्वास्थ्य कार्यालय र विभिन्न सङ्घसंस्थाको सहयोगमा उनीहरूको उपचार गरिँदै आएको छ। निजी अस्पतालमा आफूले चाहेका चिकित्सकसँग उपचार गराउन चाहने कैदीबन्दीले आफैले खर्च गर्छन् ।
गर्मी मौसम सुरु भएसँगै भाइरलको समस्या हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको उनले बताए ।
गर्मी मौसममा लामखुट्टेबाट लाग्नसक्ने रोगलाई नियन्त्रणका लागि पोखरीमा कीटनाशक औषधिको प्रयोग, झुलको व्यवस्थापन, खानपान र व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरिएको छ ।
आर्थिक वर्षको अन्तिम तीन महिना बजेटका कारण उपचारका लागि समस्या हुने गरेको उनले बताए ।