काठमाडौं, चैत ३ :

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कैदीबन्दी बिरामी भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार उनले जेलमा रहेका २९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सयजना बिरामी परेको सूचना आएको भन्दै गृह मन्त्रालयमार्फत जवाफ माग गरे ।

‘जेलभित्र रहेका नागरिकहरु जे कारणले जेलमा गएको भए पनि  राज्यले सुरक्षा र व्यवस्थित गर्ने जिम्मेवारी लिएको हुन्छ । २९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय जना बिरामी भएको सूचना प्राप्त भएको छ,’ उनले भने, ‘के भएको हो ? किन भएको हो ? सम्बन्धित निकायले प्रस्ट पार्न अनुरोध गर्न चाहन्छु ।’

यस्तै उनले पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएर आजीवन सुविधा दिने सरकारी तयारीबारे आपत्तिसमेत जनाए । ‘सरकारसँग विवेक हुनुपर्छ स्वार्थ होइन । सरकारसँग इमान हुनुपर्छ,’ उनले भने, ‘जनताको भरोसाको केन्द्र भनेको सरकार हो । तर पूर्वविशिष्ट पदाधिकारीहरुलाई सेवा सुविधा दिने कुरा यस्तो बेला भएको छ कि ग्रे लिस्टमा देश परेको छ ।’

यो पनि…

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरुको आपत्ति