नेपालगन्ज, चैत ४ :

प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद र चार लाख ३५ हजार ५५ जरिवाना असुलउपर गरिएको प्रनाउ पातलीले उल्लेख गरे ।

नेपालगन्जबाट रु १४ लाख ७१ हजार आठ सय ७५ बराबरको अवैध भन्सार छलीको सामान बरामद गर्दै नेपालगन्ज भन्सार कार्यालय बुझाइको छ भने फागुनमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाई रु ४८ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बाँकेमा अवैध बोइलर कुखुराविरुद्धको कारबाहीमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार आठ सय १० मूल्य बराबरको कुखुरा र मासु बरामद गरेर आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएर नष्ट गरिएको प्रनाउ पातलीको भनाइ छ ।

जिल्लामा प्रहरीले फागुनमा दर्ता भएका एक सय ३१ वटा मुद्दातर्फ एक सय दुई जनालाई  पक्राउ गरेर कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो अवधिमा ६५ वटा पेन्डिङ रहेका मुद्दा फछर्यौट भएका छन् ।