इलाम, चैत ५ :

चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । 

टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । 

टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । 

इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल- चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गरे । 

नगरप्रमुख थापाले एक सय ५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेती सुरुआत भएको उल्लेख गर्दै हाल यहाँको चियाले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योग विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार श्री सिए युले विशेषगरी इलाम तथा कोशी प्रदेशमा उत्पादन हुने चिया प्रवर्द्धनमा चीनले चासो राखेको बताए । 

सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीका लागि आयोजित तालिमको महत्वलाई पनि भ्रमणले उजागर गरेको उपाध्यक्ष न्यौपानेले बताए ।