
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद रोशन कार्कीले हिजो टोखाबाट २५ करोड अवैध रकम बरामद भएको सम्बन्धमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा उनले नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फस्दै गएकोप्रति ध्यानाकर्षण गराएकी हुन् ।
‘हिजो मात्रै यूरो र डलर गरी २५ करोड रुपैयाँ बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ?,’ सांसद कार्कीले प्रश्न गरिन् ।
भ्रष्टाचारमा नेपालले नयाँ-नयाँ कृतिमान कायम गरिराखेको भन्दै सांसद कार्कीले हामीहरु ठगीको उपाधिबाट सुशोभित हुनु दुखद कुरा भएको बताइन् ।
उनले भनिन् , ‘अब अति भयो । जनताको परीक्षा नलिनुस् । जनताले तपाईंहरुलाई कठघरामा उभ्याउलान् ।’ सरकारले जनताको सहनशीलतामा परीक्षा लिइरहने हो भने कुनै दिन झिरिप्प जाने चेतावनी दिइन् ।