कैलाली, चैत ७ :

धनगढीमा यही चैत ८ गते अपाङ्गता भएका महिलाहरूको ‘फेसन शो’ कार्यक्रम हुने भएको छ । 

‘सँगै हिँडौँ, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मूल नाराका साथ साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा कार्यक्रम हुने भएको हो ।

अपाङ्गता भएका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको साइनिङ होम पोखराकी अध्यक्ष आशिका चन्दले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । क्षमता भएर पनि प्रस्फुटन हुन नसकेका प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताइन् ।

महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले अपाङ्गता भएका महिलाहरूको प्रतिभाको खोजीका लागि कार्यक्रम महत्वपूर्ण हुने बताए ।  कार्यक्रममामा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने अपाङ्गता भएका १५ जना महिलाहरूको सहभागिता रहने जनाइएको छ ।