काठमाडौं, चैत ७ :

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छापको प्रयोग गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गतेको सार्वजनिक भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छापको प्रयोग गरेको भन्दै सांसद खतिवडाले आपत्ति जनाउँदै विरोध गरे।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद खतिवडाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले नेपालको संविधानको उल्लंघन गर्दै नेपाली झण्डाको अपमान गरेका छन्।’

खतिवडाले संविधानमा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्दको कुनै उल्लेख नभएको र २०६५ सालमा शाही निशानको छाप हटाएर राष्ट्रिय झण्डा राखिएको स्पष्ट पारे। सांसद खतिवडाले यो विषयमा सरकारले कडा कदम चाल्नुपर्ने बताए।

ज्ञानेन्द्र शाहको उक्त सार्वजनिक सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप राखिएको दृश्यले एकपटक फेरि नेपालको राजतन्त्र र गणतन्त्रका बीचको विवादलाई ताजा बनाएको छ।